चितवनमा रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा राखिँदै
विरल वर्षाका कारण काठमाडौं र पोखरा जाने सडकमा पहिरो जान थालेपछि चितवनमै रोकिएका यात्रुहरूलाई ७५ प्रतिशत छुट दिएर होटलमा राख्ने निर्णय गरिएको छ । शनिबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा निकाय र होटल व्यवसायीका संघसंगठन र अन्य सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।

चितवनमा रोकिएका यात्रुलाई नारायणगढ, भरतपुर र सौराहासहित जिल्लाभरिका विभिन्न होटलमा राख्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । यसरी छुटमा बस्ने यात्रुलाई फरक व्यवहार नगर्न प्रशासनले चेतावनी पनि दिएको छ । यसबारेमा प्रहरी र होटल व्यवसायी संघका प्रतिनिधिले अनुगमन गर्ने पनि बताइएको छ । बढी शुल्क लिने वा अन्यथा गर्नेलाई कारबाहीसमेत हुने प्रशासनले जनाएको छ ।

